बिग्रेको पङ्खा | A Story of an Old Damaged Fan, 2020
बिग्रेको पङ्खा
सिलीङ्गमा झुन्डिएकी म
तिमी आठ वर्षकी थियौ जब म तिम्रो घरमा भित्रिएकी थिएँ
तिम्रो पसिना आउदा मरो खाचो हुन्थ्यो, तिम्रो पाहुना आउदा म तिम्रो इज्जत राखिदिन्थें
तर किन यति चाडै थाक्यौ मदेखि, रोग त तिमीलाई पनि लाग्छ हैन र?
तिमी पनि त प्रत्येक तीन – तीन महिनाको फरकमा डाक्टर अरुणलाई भेट्न जान्छौ
अनि एक दिनमा दश गोली पुग्ने गरी तिन महिनाको पोको एकै चोटी बोकेर आउछौ
अनि खोइ त! मेरो उपचार गरेको? १२ वर्ष भइसक्यो म झुन्डिएकी झुन्डियै छु
न त मर्न नै सकेकी छु, न त तिमीले नै मेरो स्पेसलिस्ट खोजेर ल्याएकी छौ
मलाई पनि त अरु पङ्खाहरु जस्तै पखेटा फिजारेर उड्न मन छ
बेला बेलामा त्यो मिठो करेन्ट खानु छ र सिजनमा धमाधम चल्नु छ ।

बिग्रेको पङ्खा बनेपछि
आज १२ वर्ष पश्चात मेरो खिया लागेको टाउको
अनि तिन पखेटाहरु चट्ट सेतो मार्बलमा पोछा लाए झैँ सफा भएका छन्
अनि खैरो रंग भएता पनि माछापुच्छ्रे हिमाल फेवा तालमा टलटल टल्के झैँ टल्किरहेका छन्
म भित्रिँदा आठ वर्षकी फुच्ची तिमी – त्यो पहेलो फुलबुट्टे फराक आँखामा गाजल
अनि कसैको नजर नलाग्ने त्यो कालो टिका लाएर चिटिक्क पर्थ्यौ
हाम्रो घरमा त टिभी पनि छ अनि सिलीङ्गमा घुम्ने पंखा पनि छ भन्दै गाउभरी हिंड्थ्यौ
तर यति अन्जान थियौ की तिम्रो त्यो सधै झैँ बगिराख्नने नाकको सिंगान चाहिं
फेरी त्यही फराकको एक छेउले पुछ्थ्यौ तिमीले त यति चाडै शब्दबाट प्रहार गर्न सिकिसकेकी रैछौ
आज मेरा तीन पखेटाहरू फिजारेर फनफनी उड्न पाउदा मेरो मुटुभरिको पिडाहरु असारको भल बनेर
बाहिर आएका छन् अनि आँखाबाट खुशीका आशु झरेका छन्
त्यो बैशाख र जेठको चर्को घाम अनि तिम्रो बाबाको पसिनाले गर्न नसकेको काम
आज तिम्रा ति गहकिला शब्दले गरेका छन्
अनि १२ वर्ष अघिको पखेटा फिजारेर फनफनी उड्ने, त्यो मिठो कर्रेन्ट खाने
र सिजनमा धमाधाम चल्ने मेरो सपना आज पुरा भएको छ।
-> You may also like
रगत__Blood Art of War: The Guernica Picasso Painting, 1937
Blank Book|1000 of Stories in Me- Afraid of My Pumping Heart
Written BY: Deepa Bohara